मानिस हराएको सूचना


शांत बस्नु सबैले देख्ने गरि
तर तिमी जुर्मुराएको कसैले
सुईँको पनि नपाओस्
आँगन र तगारोमा धैर्यको तोरण टाँगीदिनु
सिक्नु खडेरीले खाएको आँखामा
रहरहरुको टाँका हान्न
माटोमुनि ध्यानस्थ बिउजस्तै
टूसाउन देउ समयलाई ।

आकाशमा उम्रिने इन्द्रेणीलाई निचोरेर
बच्चाहरुसित होली मनाउ
तिनका भोकाएका तृष्णाहरुकालागि
भरोसाको थाली पस्केर देउ ।

निभिसकेको चूलोमा उम्लिरहेको
आमाको आँसूको आवाज,
झ्यालढोकामा अड्किएको छ
भित्ताहरुमा टाँसीएको मौनतालाई टकटक्याउनु
र बोकेर आउनु गोजिमा
स्वास्नीको चोईटिएको अनुहारको रंग !

चिप्लीरहेको उदास साँझको हाँगाबाट खसेर
ठोकिन्छन् आँखाहरुमा पुराना क्रान्तिका
दृश्यहरु, आवाजहरु !
रगत चुहिएर रातो भएका छन् अतीत
फेरि उस्तै गरि गलाउँछ पूरा शरीर
नदीजस्तै युगौंदेखि तिर्खाएको सपनालाई
भेट्न हिँडेको त्यो मान्छे
फर्केर आयो कि आएन
कसैले थाह पायौ ?

च्यातिएको आकाश ओढेर
रातभरि काम्दै उज्यालो पर्खिरहेका
रुखहरुका छातीमा ठिहिरिँदै
आधा निदाएका चराहरुलाई कस्ले सुनायो
मानिस हराएको सूचना ?

***राजकुमार श्रेष्ठ ***

Comments

Leave a Reply

Your email address will not be published. Name and email are required